

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
एमाले नेता समेत रहेका भाइ समिर नेपालका अनुसार स्वर्गीय दाजुकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने भएको हो । पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री थियो । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।
एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउदै आएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरहेका थिए । उनी २०५६ सालमा काठमाडौ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने त्यसअघि राष्ट्रियसभा सदस्य रहेका थिए ।
नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक हुनुभएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए ।