

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले पटकपटक तारकेश्वर नगरपालिका वडा नं ९ मा पर्ने जग्गा नेपाली काँग्रेसका नेताले कब्जा गरेको आरोप लगाएका छन् । संसदमा पटकपटक आरोप लगाए पनि उनीहरूले कसले कब्जा गरेको भनेर नाम किटान गर्न भने सकेका छैनन् । व्यक्तिको नाम किटान नगरी सिंगै पार्टीलाई मुछेर बदनाम गर्न लागेपछि आज पनि प्रतिनिधि सभाको बैठकमा हंगामा भएको छ ।
आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शिशिर खनाल र सुमना श्रेष्ठले नेपाली काँग्रेसका नेताले सो जग्गा कब्जा गरेको बताए । तर उनीहरू दुवैजनाले कति जग्गा र कसले कब्जा गरेको भनेर खुलाउन सकेनन् । नेपाली कांग्रेसका नेताले सरकारी जग्गा कब्जामा लिएको भनेपछि कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन् । उनीहरूले कुनै व्यक्तिको नाम नतोकी सिंगै पाटीलाई बदनाम गराउन लागेको भन्दै आपत्ति जनाएका हुन् ।
त्यसक्षेत्रको कित्ता नम्बर ६२ र ६३ कांग्रेसका नेताले कब्जा लिई भोगचलन गर्दै आइरहेको स्थानीयको गुनासो रहेको रास्वपाका सांसदहरूले बताएका हुन् । यस सम्बन्धमा उजुरीका बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरको भनेर उनीहरूले सरकारको ध्यानाकर्षण गरेका थिए । तर कहिले उजुरी गरियो र कसले उजुरी गर्यो भन्ने उल्लेख नगरी स्थानीयले भनेको भनेर गोलमटोल प्रश्न गरेपछि विवाद भएको हो ।
त्यसपछि कांग्रेसकी सचेतक सुशीला थिङ, सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईं लगायतले आपत्ति जनाएका हुन् । तथ्यहीन आरोप लगाएको भन्दै उनीहरूले रास्वपाका सांसदद्वय खनाल र श्रेष्ठको अभिव्यक्ति हटाउन माग गरेका थिए ।