

काठमाडौं । गत आइतबार मृत्यु भएकी बुटवलकी प्रकृति लम्सालको नाममा ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको छ ।
उनको शंकास्पद मृत्युपछि अनुसन्धानरत रहेको सो घटनापछि क्याम्पसले नेपाली विद्यार्थीका लागि लम्सालको नामा छात्रवृत्ति घोषणा गरेको युनिभर्सिटीले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।
युनिभर्सिटीका सञ्चालक प्रा. अच्युदानन्द सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँगको भेटमा यस्तो सहमति गरेका थिए । त्यसक्रममा प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल भएको भनिएको छ ।
उनको मृत्युमा भारतीय प्रहरीहरूले छानबिन गरिरहेको छ भने एक अभियुक्तलाई पक्राउ समेत गरेको छ । नेपाली छात्रहरूमाथि दुर्व्यवहार गर्ने कर्मचारीमाथि क्याम्पसले कारबाही गरिसकेको छ ।