

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पन्न भएका योजना र कार्यक्रमको आधारमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा प्रधानमन्त्री कार्यालयसहित १२ मन्त्रालय अनुत्तीर्ण भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको मूल्याङ्कनमा स्वयं मन्त्रीपरिषद्को कार्यालय सहित १२ मन्त्रालयले ३५ अंक कटाउन नसकेका हुन् ।
यसरी अनुत्तीर्ण हुने मन्त्रीहरूमध्ये तीनजना कांग्रेसका छन् भने अधिकांश अनुत्तीर्ण मन्त्रीहरू एमालेका छन् । कांग्रेसको तर्फबाट मन्त्रीहरूको नेतृत्व गरेर गएका सहरी विकास मन्त्री प्रकाशमान सिंहले ३५ अङ्क पनि कटाउन सकेनन्। उनले औसतमा २६% हाराहारीमा मात्रै काम सम्पन्न गर्न सके। उनी बाहेक खेलकुद मन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पनि औसत प्रतिशत प्रगति गर्न नसकेको बताइएको छ।
८ जना औसत आसपास अंक ल्याएर पास हुँदा २ जनाको पर्फर्मेन्स उत्कृष्ट देखिएको छ । तर, यसरी उत्कृष्ट देखिएकाहरूको हकमा सम्पन्न गर्नुपर्ने काम वा माइलस्टोन पनि कम रहेको देखिन्छ ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको पुससम्मको कार्यसम्पादन प्रगति विवरणअनुसार सम्पन्न हुनुपर्ने माइलस्टोन र गतिविधिको आधारमा क्याबिनेटका आधाभन्दा बढी सदस्य फेल भएका छन् ।
आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पन्न गरिसक्नुपर्ने कामको हिसाबले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सबैभन्दा कमजोर देखिएका छन् । उनको मन्त्रालयले ७.९ प्रतिशत काम मात्र सम्पन्न गरेको छ । त्यसपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीको १०.७ प्रतिशत, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको १५.३ प्रतिशत मात्र अंक आएको छ ।