

काठमाडौं । राष्ट्रिय सभामा एक सिट नपुगेर अल्पमतमा रहेको सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको आग्रहलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेका छन् । केही दिनदेखि यादवलाई कुरेर संसदमा अध्यादेश पेश समेत नगरेको सत्तारुढ दलसँग उनले शिक्षा मन्त्रालय र मधेश प्रदेशको मुख्यमन्त्री मागेको समाचार बाहिर आएको थियो ।
तर अध्यक्ष यादवले आफूहरूले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन् । आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
अध्यादेशलाई देखाएर तपाईंहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा यादवले भनेका छन्, ‘यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्ने त ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं । हामीलाई मन्त्रालय चाहिएन ।’
अध्यक्ष यादवको यो अभिव्यक्तिले अध्यादेश पास हुन भने जटिलता थपिएको छ । माओवादी र उपेन्द्र यादवमध्ये एउटालाई फकाउनु पर्नेमा प्रमुख प्रतिपक्षी माओवादीले सहयोग गर्ने सम्भावना कम छ भने यादवले समेत सहयोग नगर्ने संकेत गरेपछि अध्यादेशमा जतिलता थपिएको हो । यद्यपि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तीन दिन पछिको संसद् बैठकमा अध्यादेश पेश हुने बताएका छन् ।