काठमाडौं । सभापतिविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन् । विधानअनुसार ज्येष्ठ सदस्यको हैसियतले अर्का उपसभापति स्वर्णीम वाग्लेले कार्यवाहक पाउनुपर्ने भएपनि सभापतिले तोकेको व्यक्ति हुने भन्ने अर्को प्रावधानलाई टेकेर रास्वपाले अर्याललाई जिम्मेवारी दिएको हो ।
आइतबार नै सभापति रवि लामिछानेले सो जिम्मेवारी दिएका थिए । पार्टीको सोमबार बसेको सचिवालय बैठकले सो निर्णयलाई अनुमोदन गरेको छ । जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानकारी दिए ।
कार्यवाहक सभापति तोकिए पनि संसदीय दलको नेता भने अहिले तोकिएको छैन । रविलाई सांसद पदबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा सभामुख नै स्पष्ट नभएकोले संसदीय दलको नेता नतोकिएको हो ।
कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।