काठमाडौं खबर पुस ४, २०८१
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियारमा बेनामे उजुरीको व्यवस्था हटाउन दबाब दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन संशोधनको प्रक्रियामा रहेकोले यसमा बेनामे उजुरी हटाउने लगायत केही व्यवस्था संशोधनमा ओलीले दबाब दिइरहेको एक सांसदले जानकारी दिएका छन् ।
यसबारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सांसदहरूलाई आज बालुवाटर बोलाएका थिए । यद्यपि उनीहरूले आज विशेष कारण भन्दै जाने कार्यतालिका राखेका छैनन् । तर एक सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारणसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनमा चासो राख्दै बिहान १० बजे समितिमा रहेका सत्ता पक्षका सांसदहरूलाई बालुवाटार बोलाएको जानकारी दिए ।
समितिको सभापति समेत रहेका काँग्रेस सांसद रामहरि खतिवडाले भने आज प्रधानमन्त्रीलाई भेट्न जाने कुनै कार्यतालिका नरहेको बताएका छन् । हृदयराम थानी संयोजकत्वको उपसमितिले भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयकसम्बन्धी प्रतिवेदनमा आयोगलाई थप शक्तिशाली बनाउने लगायतका व्यवस्था प्रस्तावित छन् । जसमा ओलीले चासो राखेका हुन् ।