गण्डकी । सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज म्याद थपका लागि अदालतमा लगिएका लामिछानेले इजलासमा न्यायाधीशसमक्ष आफूलाई छाडिदिन हारगुहार नै गरे ।
अदालतमा लामिछानेले सूर्य थापाले बनाएको प्रतिवेदनमा ठगी गरेको कुनै कुरा नभएको, अपचलनको कुरा नै नउठेको बताए । तर, प्रतिवेदन आइसकेपछि थापाले हरेक मिडिया धाएर आफूमाथि लाञ्छना लगाएको आरोप लामिछानेको छ । तर उनले अदालतबाट भने न्यायको आशा रहेको बताए । उनले भने : “मलाई जसरी अहिले फिल्मी स्टाइलमा छायांकन गरिराखिएको छ, त्यो कुराले गर्दा भोलि के हुने हो भन्ने कुरा त मनमा लागिराखेको छ । तर, भगवानरुपी न्यायधीशहरु भएको कारणले गर्दा न्यायाधीशबाट हुने आदेश र फैसलामा त मैले न्याय पाउने नै छु,” लामिछानेले भने ।
आज कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो । सभापति लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।