काठमाडौं खबर मंसिर १४, २०८१
काठमाडौं । आजदेखि स्थानीय तहको उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । मंसिर १६ गते हुने निर्वाचनको १८ घण्टा पहिलेदेखि मतगणनासम्म यो अवधि सुरु हुने बताइएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्दछ ।
यो अवधिमा भोट माग्नदेखि सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता काम गर्न पनि नपाइने आयोगले जनाएको छ ।
मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।