काठमाडौं खबर कार्तिक २१, २०८१
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पाँच वर्ष जेल सजायसहितको फैसला सुनाएको छ । २०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलनमाथि गरेको सांघातिक आक्रमणको मुख्य योजनाकारको रूपमा उनीविरुद्ध मुद्दा परेको थियो । यसअघि पाटन उच्च अदालतको आदेशलाई सदर गर्दै सर्वोच्चले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो।
सर्वोच्चको यो फैसलासँगै उनको सांसद पद स्वत: खारेज भएको छ । फैसलाको पूर्णपाठ आएपछि उनी अब कति समय जेल बस्ने र सो क्षेत्रमा उपनिर्वाचन लगायतका विषय यकिन हुनेछ । यही मुद्दामा पहिले अनुसन्धानको क्रममा पनि उनी कारागारमा बसिसकेकोले पूरा पाँच वर्ष उनी कारागार बस्नुपर्ने छैन ।
मनाङे पटकपटक प्रदेश मन्त्री समेत भइसकेका व्यक्ति हुन् । मनाङबाट प्रदेश सभा सदस्यका लागि निर्विरोध निर्वाचित भएका उनी पछिल्लो समय भौतिक पूर्वाधार मन्त्रीबाट वन मन्त्रालयमा सरुवा हुनुपरेपछि भने ‘मन्त्री बन्न अल्छी लाग्यो’ भन्दै राजीनामा दिएर बसेका छन् । मन्त्रीबाट राजीनामा दिएपछि उनले मन्त्रीको हैसियत गाउँपालिका अध्यक्षको जति पनि नभएको भन्दै अब गाउँपालिका अध्यक्ष उठ्ने बताउँदै आएका थिए । उनले टेलिभिजन अन्तर्वार्तामा नै यो कुरा बताएका थिए ।
उनले मंसिरको उपनिर्वाचनको एक महिनाअघि सांसद पदबाट राजीनामा दिने बताएका थिए । मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदैछ । तर उनले आफूले भनेअनुसार राजीनामा दिएनन् । बरु एक महिना अलिक बाँकी नरहँदा सर्वोच्चले उनलाई फौजदारी मुद्दामा दोषी ठहर गरिदियो ।