काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा मंगलबार तेस्रो पटक म्याद थप हुँदैछ । सहकारीको रकम गोर्खा मिडियामा अपचलन गरेको आरोपमा उनी दशैँपछिदेखि नै प्रहरी हिरासतमा छन् । तिहारको लक्ष्मीपूजाको अघिल्लो दिन नै उनलाई हिरासतमा राख्न दिएको म्याद सकिएको भए पनि सरकारी बिदा परेका कारण आजसम्म प्रहरीले उनलाई म्याद थप गरेको छैन ।
मंगलबार रविलाई म्याद थप नगर्न दबाब दिने उद्देश्यसहित रास्वपाका नेता तथा कार्यकर्ताहरू पोखरा जाने भएका छन् । उनीहरूले मंगलबारको आन्दोलनलाई सशक्त बनाउने बताउँदै आएका छन् । भोलि आन्दोलनको कमाण्ड उपसभापति डीपी अर्यालले गर्ने बताइएको छ ।
सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते लामिछानेलाई पक्राउ गरिएको हो । लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको छ । उपसभापति अर्यालका अनुसार रास्वपाको आन्दोेलन मंगलबार म्याद थपको दिन भएकाले पोखरामा गरिने भए पनि रविको थुना वा रिहाइले यो रोकिने छैन ।