काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि सहकारी ठगी प्रकरणमा मुछिएकी छन् । काठमाडौंको बिजुलीबजारमा रहेको साई सहकारी गत चैत तेस्रो साता अनियमितताको आशंकामा काठमाडौं महानगरपालिकाको सहकारी विभागले छापा पारेको थियो । सो सहकारीमा पौडेल उपाध्यक्ष छिन् ।
पौडेलले उपाध्यक्ष पदबाट राजीनामा दिएको दाबी गरे पनि उनको राजीनामा सञ्चालक समिति र साधारणसभाले स्वीकृत गरेको देखिँदैन । महानगरको टोलीलाई सहकारीका पदाधिकारीले निकिताको राजीनामा पत्र समेत बुझाउन नसकेपछि सो प्रतिवेदनमा निकिता अझै पनि सो सहकारीको उपाध्यक्ष पदमा कायमै रहेको देखिन्छ ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक नगरेको सो गोप्य प्रतिवेदनलाई उकेरा डटकमले सार्वजनिक गरेको छ । सहकारीको सञ्चिती घाटा ५० लाख ६२ हजार ३ सय ६८ रुपैयाँ देखिन्छ। तर घाटापूर्ति कोषको रकम छैन । प्रतिवेदनमा ४ करोड १० लाख ३० हजार ९ सय ५२ रुपैयाँ ऋण लगानी भएको देखिन्छ। तर ऋण प्रवाह गर्दा धितो जमानी भने राखिएको छैन ।
सहकारी ऐनको दफा ७९ ( ग) बमोजिम एक लाख भन्दा बढी रकम ऋण प्रदान गर्दा जमानी वा धितो राखी प्रवाह गर्नुपर्ने उल्लेख छ। तर सो सहकारीले धितो जमानी हैन, तमसुक अनि व्यक्तिगत जमानीमा गैर कानुनी ढङ्गले ऋण प्रवाह गरेको थियो ।