काठमाडौं । यसअघिका सेनापतिले खासै चासो नदिएको राष्ट्र संघको सैन्य सल्लाहकारको पदमा हालका प्रधानसेनापतिले चासो दिएका छन् । संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा नेपालले उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका महसचिवलाई सिधै रिपोर्टिंङ गर्नुपर्ने तहको सो पदमा उम्मेदवारी दिनका लागि नयाँ सेनापतिले नियुक्त हुनेबित्तिकै चासो दिएका थिए ।
रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव मनोजकुमार आचार्यका अनुसार संयुक्त राष्ट्र संघको मिलिटरी एड्भाइजर पदमा उम्मेदवारी दिन प्रतिस्पर्धात्मक प्रक्रियामा भाग लिन उपरथी प्रेमध्वज अधिकारीलाई अघि सारिएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयबाट यसअघि नेपाली सेनालाई सैनिक सल्लाहकारमा उम्मेदवारी दिन प्रस्ताव हुँदा नेपालले कसैलाई पठाएको थिएन ।
यो दर्जामा उम्मेदवारी दिन रथी तहको अधिकारी अनिवार्य भएपनि एक जना प्रधानसेनापति हुने लाइनमा र अर्का शान्ति मिसन फोर्स कमाण्डका रुपमा नेपाल बाहिरै भएकाले सम्भव नभएको बताइएको थियो । तर, प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएलगत्तै उनले अधिकारीलाई उम्मेदवारको रुपमा अघि सारेका थिए । जंगीअड्डाका स्रोतका अनुसार, फेरि उम्मेदवारी दिने अवसर आएपछि हाल युद्धकार्य विभागमा रहेका उपरथी अधिकारीलाई अघि सारिएको थियो ।