काठमाडौं खबर अशोज २९, २०८१
काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैँको लागि बन्द भएका सरकारी कार्यालयहरू खुल्ने भएका छन् । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहे पनि सरकारी कार्यालय भने आजदेखि खुल्न लागेका हुन् ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि शुरू भएको टीका र जमरा लगाउने क्रम पर्सिसम्म जारी रहने छ ।
मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।