काठमाडौँ । गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण ठप्प भएका काठमाडौं जोड्ने सडकमार्ग विस्तारै सञ्चालनमा आउन थालेका छन् । आइतबार सबैजसो नाका ठप्प भएको काठमाडौंमा बिस्तारै सबै नाकाबाट सवारी आउन थालेका छन् । पहिरो पन्छाउने कार्य पूरा भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ ।
पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।
नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको उनको भनाइ छ । दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढीपहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्याएका स्थानमा भने अझै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्नेछ ।
उपत्यकाभित्रका खोला करिडोर सडकमा बाढीपछिको हिलो पन्छाउने कार्य पूरा भएसँगँ उपत्यकामा सडक यातायात व्यवस्थापन केही हदसम्म सहज हुने ट्राफिक प्रहरीको ठम्याइ छ ।