काठमाडौं खबर भदौ ३, २०८१
काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएकी छन् । आइतबारदेखि सुरु भएको उनको पाँच दिने भ्रमणको दोस्रो दिन उनले प्रधानमन्त्रीसँग भेट गर्न लागेकी हुन् । भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा दिल्ली गएकी उनले यही समय किन भारत भ्रमण रोजिन् भन्ने चर्चाको विषय बनेको छ । अझ रोचक कुरा त के छ भने अन्य परराष्ट्रमन्त्रीको भन्दा आरजु राणाको पालामा भारतले परराष्ट्रमन्त्रीलाई गर्ने स्वागतको शैली धेरै फरक थियो । उनलाई उच्च सुरक्षाकाबीच भारतले स्वागत गरेको थियो ।
आरजु राणाले तीन वर्षअघि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई राखी बाँधेर दिदीभाइको सम्बन्ध जोडेकी थिइन् । कूटनीतिक क्षेत्रमा आरजुले भारत भ्रमण यसैको लागि भएको मानिएको छ । उनले आफ्नो भ्रमण जनैपूर्णिमै चयन गर्नुले फेरि ‘राखी कूटनीति’ को चर्चा हुन थालेको छ। २०७८ भदौमा नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा)का चौथाईवालेलाई आरजुले बालुवाटारमा राखी (रक्षाबन्धन) बाँधिदिएकी थिइन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आरजुले यसपटक पनि चौथाईवालेलाई राखी बाँध्ने कार्यक्रम तय भएको छ। यसका साथै दुईपक्षीय भेटघाट र आफ्नो उपचार गराउने भ्रमणका अन्य उद्देश्य छन्। भारत भ्रमणका लागि आरजुले नयाँदिल्लीस्थित नेपाली दूतावासभन्दा पनि लैनचौरस्थित भारतीय दूतावाससँग निकट रहेर कार्यक्रम तय गरेको अधिकारीहरूले बताएका छन्।
दिल्लीमा उच्च सुरक्षा र स्वागत
राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमास्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए । मन्त्री राणालाई नयाँ दिल्लीमा रहँदा भारत सरकारले नै सरकारी गाडीसहितको सुरक्षा उपलब्ध गराएको छ। राणालाई स्वागत गर्न भारत सरकारले डीएल ३ सीसीवाई ००८ नम्बरको मर्सिडिज बुलेड प्रुफ कार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पठाएको थियो ।
नयाँ दिल्ली पुगेसँगै उनी साकेटस्थित सेराटन होटलमा भेटघाटका कार्यक्रम गरिरहेकी छन्। उनको बसाइँ पनि सोही होटलमा व्यवस्थापन गरिएको छ। परराष्ट्रमन्त्री राणाको स्वागतमा नयाँ दिल्लीस्थित नेपाली दूतावासले आइतबार रात्रिभोजको आयोजना गरेको छ।