काठमाडौं खबर साउन २८, २०८१
कीर्तिपुर । नयाँ सरकार आएपछि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नतिको काम अघि बढ्ने भएको छ । गत असारमा सरकारले मन्त्रिपरिषद्को पहिलो निर्णयको रूपमा नै ३०० दिनभित्र रंगशाला निर्माण गरिसक्ने बताएपछि आज सरोकारवाला पाँच निकायबीच बैठक बसेर यसको कामलाई द्रूत गतिमा अघि बढाउने सहमति भएको हो । छलफलमा आवश्यक नीतिगत र भौतिक काममा समन्वय गर्ने सहमति भएको छ ।
क्रिकेट मैदानमा प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णयमा उल्लेख छ । सो निर्णयअनुसारका संरचना निर्माण गर्न त्रिवि, राखेप र शिक्षा, अर्थ तथा सहरी विकास मन्त्रालयबीच समन्वय गर्नुपर्ने भएकाले संयुक्त बैठक गरेर अघि बढेको बताइएको छ । रङ्गशालामा फ्डलाइट निर्माण गर्न यसअघि ‘टेन्डर’ गर्ने निर्णय भएको थियो । सो टेन्डरबारे सार्वजनिक खरिद पुनरावलोकन समितिमा निवेदन परेका कारण प्रक्रिया स्थगित भएको हो । उक्त समितिबाट निर्णय आएपछि काम अघि बढ्ने उनले बताए । यसैगरी, प्यारापिट निर्माण गर्न गुरुयोजना तयार भए पनि ठूलै बजेट आवश्यक भएकाले सहरी विकासमार्फत योजना सञ्चालन गर्ने तयारी छ ।
रङ्गशालाको स्तरीकरणका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट एसोसिएसन क्यानबीचको जग्गा भाडा सम्झौतासमेत नवीकरण गर्नुपर्ने अवस्थामा रहेको सदस्यसचिव घिसिङको भनाइ छ । त्रिविको आन्तरिक रङ्गशालाका रुपमा रहेको उक्त मैदान २०५२ सालमा २५ वर्षका लागि क्यानले भाडामा लिएको थियो । त्यसको नवीकरण र अब बन्ने संरचनाका लागि त्रिविको सहमति आवश्यक हुने उनले बताए।
बैठकमा सहभागी त्रिवि रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले संरचना निर्माणका लागि त्रिविले गनुपर्ने नीतिगत एवं व्यावहारिक निर्णयहरु शिक्षा मन्त्रालयबाट भएको पत्राचारका आधारमा गर्ने जानकारी दिए । त्रिविको जग्गा भाडासम्बन्धी विषय त्रिवि सभाले निर्णय गर्नुपर्ने बताउँदै उनले हाल त्रिविको जग्गाको उपयोग सम्बन्धमा प्रश्न उठिरहेकाले जग्गासम्बन्धी विषय संवेदनशील भएको उल्लेख गरे।