काठमाडौं । जनैपूर्णिमा आउनै लाग्दा गोसाइँकुण्ड यात्राका लागि जानेहरूको भिड सुरु भएको छ । पैदल यात्रा गरी जानेहरू विभिन्न मार्ग हुँदै गोसाइँकुण्ड जानेहरूको चहलपहल सुरु भएको हो । गोसाइँकुण्ड जानेहरूलाई स्थानीय समिति एवं प्रहरीहरूले आउने पर्यटक एवं तीर्थयात्रीहरूलाई सचेत रहन एवं पैदलयात्राको कतिपय मापदण्ड पालना गर्न आग्रह गरेका छन् । गोसाइँकुण्डमा जाने यात्रीहरूमा लेक लाग्ने र अन्य समस्याहरू समेत देखिने भन्दै सचेत रहन आग्रह गरिएको हो ।
गोसाइकुण्ड जाँदा लौरीविनायकमाथि श्वासप्रश्वासमा बढी सास्या देखिने भएकाले चोलाङ्पाटीमा रहने स्वास्थ्य शिविरमा आवश्यक परामर्श लिन अनुरोध गरिएको चिकित्सकले बताएका छन् । गुल्कोजपानी प्रशस्त खाने, खालीपेट नराख्ने, अदुवा, कागती, पाचकलगायत वस्तुको सेवन गर्दै जाँदा सहज हुने जेष्ठ नागरिकको अनुभव छ ।
घरबाट कुण्ड निस्कनुपूर्व कूल देवतासँग बिदा माग्ने, बेत्रावती पुगेर उत्तरगया धाममा केस मुण्डन र स्नान गर्ने, गङ्गा पुजन गरेर साथीसँग ॐ नमो शिवाय जप्दै उकालो लाग्ने, सुलाद्री पर्वत चढ्दा लौरी टेक्ने, लौरिविनायक पुगेर चढाउने मान्यता रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए । कुण्डमा पुगेर बढीमा तीन र कम्तीमा एक पटक स्नान गरी, निलकण्ठ दहमा पुजाआजा गरेपछि आफ्नो मनोकाङ्क्षा भगवान्ले पूरा गर्ने धार्मिक मान्यता रहिआएको उनले उल्लेख गरे ।
काठमाडौंबाट सवारीसाधनमा धुञ्चे पुगेपछि पैदल यात्रा सुरू हुन्छ । बाटोमा ठाउँठाउँमा थर्कु तथा होटल सञ्चालनमा रहेकाले खान र बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी सङ्घका अध्यक्ष निसान गजुरेलले बताए । हिमाली क्षेत्रको वातावरण शरीरमा मिलाई हिड्नका लागि काठमाडौंबाट आएको एक रात धुञ्चेमा बसेर भोलिपल्ट उकालो लाग्दा सहज हुने उनको सुझाव छ ।
गोसाइकुण्ड क्षेत्र विकास समितिका अनुसार यस वर्ष स्नान मेला भर्न १५ हजार भक्तजन गोसाइकुण्डमा पुग्ने अनुमान गरिएको छ ।