काठमाडौं । पशुपतिको कोटी होमको व्यासासनमा कृष्ण दमाईंले प्रवचन दिएका छन् । मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा शुक्रबार आचार्य कृष्ण दमाइले प्रवचन दिए । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए ।
उनी कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण भएका थिए । उनी दलित समुदायका पहिलो आचार्य पनि हुनुहुन्छ । सोही समाचारले आफूलाई प्रेरणासमेत मिलेको आचार्य कृष्णले बताए । उनले प्रवचन दिने व्रmमको सुरुवातमा संस्कृत साहित्यलगायत अन्य कर्ममा समावेश गराउने आदरणीय गुरुहरूमा नमन गरेका थिए । उनले भनेका छन् ः हामीमा धार्मिकरूपले विध्वंस मच्चाई एकअर्कामा विभाजित गरी सनातनलाई सिध्याउने षड्यन्त्र भएको छ । अहिलेसम्म हिन्दु सनातनले सहँदै आएको छ । अब हामी हिन्दुत्वका लागि, सनातनका लागि एकबद्ध रहनु पर्छ ।” उनले कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको धारणा राखे ।
मानवसेवा फाउण्डेशनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले नेपालमा नयाँ युगको सुरुआत भएको जिकिर गरे। उनले भने,“दमाई परिवारबाट आचार्य गर्नुभएका कृष्णलाई व्यासमा राखेर अभिनन्दन गरेका छौँ र हामीलाई गर्व लागिराखेको छ, उहाँले निकै गहकिलो प्रवचन दिनुभयो । यो छुवाछूतविरुद्धको ठूलो क्रान्ति हो । बोलीले मात्र होइन व्यवहारले नै सामाजिक विभेद् हटाउनुपर्छ । त्यसैले यो एउटा नयाँ युग र नयाँ क्रान्ति हो ।”