काठमाडौं । नेपाली काँग्रेस नेता एवं पर्यटनमन्त्री बद्री पाण्डेले हवाई सुरक्षाको प्रभावकारी उपाय खोज्ने भन्दै एक साताको कार्यक्रम रद्द गरेका छन् । १५ दिनको बीचमा दुईवटा विमान दुर्घटना भएपछि उनले बुधबार राति एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको सम्पूर्ण शक्ति लगाएर उपाय खोज्ने बताएका हुन् ।
उनले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गर्ने पनि जानकारी दिए । उनले विज्ञप्तिमा अतिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले त्यस निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने उल्लेख गरे।
मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन अनुरोध गरेको छ । यस्ता सुझाव वा जानकारी मन्त्रालयको इमेलमा पठाउन अनुरोध गरिएको छ ।