काठमाडौं । बाढी पहिरोमा परी मंगलबार मात्रै ११ जनाको ज्यान गएको छ । सरकारी तथ्यांक अनुसार मंगलबारको यो तथ्यांकसँगै हालसम्म बाढी, पहिरोलगायतका विपद्मा परी ज्यान गुमाउनेको संख्या एक सय ६५ पुगेको छ ।
मंगलबार ज्यान गुमाउनेहरू बागलुङ र गुल्मीका रहेका छन् । प्रहरीका अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा मानवीय क्षति भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा हालसम्म तीन, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा छ, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपद्मा परी आजसम्म एक सय ९८ जना घाइते भएका छन् भने एक सय ५१ जना बेपत्ता भएका छन् । प्रहरी प्रवक्ता दानबहादुर कार्कीले आज मात्रै थप चार जना बेपत्ता भएको जानकारी दिए । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ५९ घर परिवार विस्थापित भएका छन् ।