काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा देखिन थालेको मन्दीको असर नेपाली सेयरबजारमा पनि देखिएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भारी अङ्कले गिरावट आएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटका बाबजुद नेपाली सेयरबजारमा वृद्धि भए पनि आज भने अन्यत्रजस्तै भारी गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ ।
कुल पाँच करोड ३८ लाख ४४ हजार दुई सय ३७ कित्ता शेयर रु २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार आठ सय ७४ मूल्यमा कारोबार भयो । नेपाल फाइनान्स,गुर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।