काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्किलले दुईतिहाइ मत प्राप्त गरेका छन् । सोमबार संसदमा भएको विश्वासको मतमाथिको मतदानमा उनले कुल २६३ सांसदमध्येबाट १८८ मत प्राप्त गरेका हुन् । दुईतिहाइको लागि कुल १८४ मत आवश्यक पर्नेमा ओलीले मुस्किलले दुई तिहाइ पुग्ने गरी मत पाएका हुन् ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रह्यो ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।
उनलाई १९४ सांसदको मत आउने भनिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले पक्षमा मत नदिएपछि मत घटेको हो । प्रधानमन्त्रीको विश्वासको मतमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।