काठमाडौं । दोलखाको भीमसेन मन्दिरमा पसिना आएको छ । विपत्तिको सूचक मानिने दोलखाको भीमसेन मन्दिरमा शनिबार पसिना आएको दोलखाका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार शनिबार दिउँसो १:४७ मा शिलाको पश्चिमपट्टि पसिना आएको थियो । दोलखा भीमसेन मन्दिरमा पसिना आएपछि देशमा विपत्तिजनक घटनाहरू हुन्छ भन्ने विश्वास गरिन्छ । सो पसिना पुछिएको कपासलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन छ । सो प्रसाद राष्ट्रपति समक्ष बुझाउने गरिन्छ ।
पोखरेलले आइतबार महाप्रसाद राष्ट्रपति कार्यालयमा लैजाने जानकारी दिए । ‘पसिना’पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गर्न थालिएको छ । भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ ।
यसअघि २०७८ साल वैशाख २५ गते भीमसेनको मूर्तिमा पसिना आएको थियो ।