काठमाडौं खबर साउन ४, २०८१
काठमाडौं । मानव तस्करीको आशंका गरिएको उपसभामुख इन्दिरा रानाको पत्रमाथि उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले सहनशीलताको नीति लिएको देखिएको छ । रास्वपा स्रोतका अनुसार ३ महिनाअघि नै पार्टीभित्र सो पत्रको बारेमा छलफल भए पनि इलामको चुनावको कारण देखाउँदै त्यसलाई गुपचुप राखिएको थियो । अहिले सो पत्र छताछुल्ल भएपछि समेत रास्वपाले यस विषयलाई बाहिर ल्याउन आनाकानी गरिरहेको छ ।
उपसभामुख इन्दिरा रानाले आफूसहित अन्य पाँच जनाको लागि भिसा दिन भन्दै उपसभामुखको लेटरहेडमा पत्र काटेकी थिइन् । सो पत्र सार्वजनिक भएपछि अहिले उनी गम्भीर विवादमा छिन् । उनीमाथि पैसा लिएर मानव तस्करी गर्न लागेको आरोप लागेको छ । कतिपयले १० लाख रुपैयाँ जनही अग्रिम लिएर बाँकी अमेरिका पुगेपछि दिनेगरी सम्झौता गरेर उक्त पत्र लेखेको आरोप लगाएका छन् । तर यसको भने पुष्टि हुन बाँकी छ ।
उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर प्रयोग गरी अमेरिकी दूतावासलाई आफूसहित छ जना अमेरिका जानुपर्ने भएकाले चाँडो इन्टरभ्यूको डेट मिलाइदिन अनुरोध गर्दै लेखिएको सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ । रानाले २५ फेब्रुवरी २०२३ (२०७९ फागुन १३) मा लेखेको पत्र सार्वजनिक भएको छ । पत्र सार्वजनिक भएसँगै उपसभामुखमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ । कांग्रेसले यसलाई पदीय दुरुपयोग भन्दै संवैधानिक परिषदको सदस्यसमेत भएको व्यक्तिले यसरी पत्र लेख्नु गम्भीर त्रुटि भएको भन्दै नैतिकताको प्रश्न उठेको बताएको छ ।
यो विषयलाई सुशासनको नारा दिने राष्ट्रिय स्वतन्त्र पार्टीले भने अझैसम्म मामला गुपचुप राखेको छ । यो पत्र सार्वजनिक भएको चार दिन भइसक्दा पनि रास्वपाले पार्टीभित्र छलफल समेत चलाएको छैन । यसले पनि यो धन्दामा रास्वपाले सहनशीलताको नीति लिएको आरोप लाग्ने गरेको छ ।