काठमाडौं खबर साउन २, २०८१
काठमाडौं । संसद् विघटन गर्न ओलीलाई सुझाव दिने रमेश बडाल फेरि महान्यायाधिवक्ता नियुक्त भएका छन् । सरकारको प्रमुख सल्लाहकार समेत रहेको महान्यायाधिवक्ताको कार्यालयका तत्कालीन प्रमुख बडालकै सुझाव अनुसार केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा संसद् विघटन गरेका थिए । विघटनको पक्षमा बडालले सर्वोच्च अदालतमा पनि बहस गरेका थिए ।
तिनै बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाललाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सो बहसको क्रममा अमर्यादित शब्द प्रयोग गरेका बडाललाई इजलासले नै आक्रोश व्यक्त गर्दै फैसलामै आपत्ति जनाउन बाध्य भएको थियो । अदालतले फैसलामा भनेको थियो, ‘विषयको संवेदनशीलतालाई हेरी दोस्रो पटक इजलास गठन भएपछि रिट निवेदन उपर प्रारम्भिक सुनुवाइ पनि नहुँदै प्रत्यर्थी नेपाल सरकार सम्बद्ध निकाय र पदाधिकारीहरूको तर्फबाट सरोकार रहेको भनी प्रतिनिधित्व र प्रतिरक्षा गर्न उपस्थित हुन आउनुभएका विद्वान महान्याधिवक्तालगायतका सरकारी वकिलहरूसहितका कानुन व्यवसायीहरूबाट जे जो भाषा, शैली, तर्क र विषयवस्तु प्रस्तुत हुन आए, त्यसलाई स्वाभाविक, तार्किक र ग्रहणयोग्य मान्न सकिएन ।’