काठमाडौं खबर असार १८, २०८१
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा सर्वोच्चले रोक लगाएको छ । मंगलबार सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
सर्टलिष्टमा परेका पाँच जना उम्मेदवारमध्ये सन्तोष नारायण श्रेष्ठले सोमबार प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा दायर गरेका थिए । न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको हो ।
अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका पाँचमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।
सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणका लागि उपस्थित भएका थिए ।