काठमाडौँ । नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रीपरिषद्बाट पटक पटक निणर्य गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि नेपालको प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन कुहिन थालेको छ ।
अवैध रूपमा भारतबाट ल्याइएको यो रक्तचन्दन बरामद गरी लामो समयदेखि २० जिल्लामा थन्क्याएर राखिएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) प्रावधान अनुसार वैधानिक रूपमा बिक्री गर्न नपाइने भएकाले नेपाल सरकारले यो रक्तचन्दन पटक पटक आग्रह गर्दासमेत भारतले लैजान चासो दिएको छैन ।
भारतबाट ल्याएर नेपाल हुँदै चीन र तेस्रो मुलुकमा तस्करी गर्ने क्रममा यो रक्तचन्दन नेपालमा नियन्त्रणमा लिइएको हो । २०६४/६५ देखि मन्त्रीपरिषद्बाट निणर्य गरी ५४ हजार ११२ किलो रक्तचन्दन भारतलाई फिर्ता गर्ने निणर्य गरिसकेको छ तर ३६ हजार ९२८ किलो मात्र फिर्ता गरियो । त्यसै गरी १२ फागुन २०७१ मा बसेको मन्त्रीपरिषद् बैठकले २७ हजार १६६ किलो रक्तचन्दन भारतलाई फिर्ता दिने निणर्य गरेको थियो । २०७६ पुस र २०८० साउनमा सरकारले भारतलाई फिर्ता दिने निणर्य भए पनि रक्तचन्दन फिर्ता हुन सकेको छैन ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले यसरी थन्किएर रहेको रक्तचन्दन सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, सङ्खुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङमा राखिएको छ । बरामद गरेर राखिएको रक्तचन्दन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर राखिएको छ । भारतले रक्तचन्दन नलिँदा काठमाडौँलगायत अरू जिल्ला सदरमुकाममा रहेको महत्वपूणर् जग्गा ओगट्नुका साथै सुरक्षाको भार थपिएको छ ।
भारतमा पाइने रक्तचन्दन नेपाललाई ट्रान्जिट बनाउँदै चीनलगायत तेस्रो मुलुक निर्यात हुँदा बरामद भएको थियो । धार्मिक प्रयोजनसँगै औषधीमा प्रयोग हुने भन्दै चीनलगायत तेस्रो मुलुक रक्तचन्दन निर्यात हुने गरेको हो । पछिल्लो समय रक्तचन्दन तस्करी रोकिएको मन्त्रालयका कर्मचारी बताउँछन् ।