काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सचिन तिमल्सेनाले चुनावी अभियानलाई तीव्रता दिएका छन्। शुक्रबार बूढानीलकण्ठ नगरपालिका अन्तर्गत वडा नम्बर ९ मा घरदैलो कार्यक्रम सम्पन्न गरिएको अभियान टोलीले जनाएको छ।
घरदैलोका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै तिमल्सेनाले क्षेत्रका पूर्वाधार, खानेपानी, सडक व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवासम्बन्धी गुनासा तथा सुझाव संकलन गरेका थिए। विशेषगरी युवा रोजगारी, व्यवस्थित सहरीकरण र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग मतदाताबाट उठेको टोलीले जनाएको छ।
बूढानीलकण्ठ नगरपालिका–९ मा आयोजित भेटघाट कार्यक्रममा स्थानीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीसँगको अन्तरक्रियाले आफूलाई थप ऊर्जा र हौसला मिलेको तिमल्सेनाले प्रतिक्रिया दिएका छन्। “यहाँहरूले देखाउनुभएको आत्मीयता, विश्वास र सहयोगप्रति हार्दिक कृतज्ञ छु। यहाँका समस्या र सरोकारको प्रभावकारी तथा इमानदार प्रतिनिधित्व गर्न सधैं प्रतिबद्ध रहनेछु,” उनले भने।
अभियानलाई चरणबद्ध र योजनाबद्ध ढंगले अघि बढाइएको निर्वाचन परिचालन समितिले जनाएको छ। भोलि फागुन १६ गते शनिबार बूढानीलकण्ठ नगरपालिका–८ मा घरदैलो कार्यक्रम तय गरिएको छ। सो कार्यक्रमको तयारीबारे जानकारी दिँदै बूढानीलकण्ठ नगरपालिका–८ का सभापति राजाराम थापाले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखिएको बताए।
काठमाडौँ–४ मा यसपटक प्रतिस्पर्धा रोचक बन्दै गएको विश्लेषकहरूको भनाइ छ। दलहरूबीच एजेन्डा, संगठन विस्तार र घरदैलो अभियानमार्फत मतदातासँग सम्बन्ध सुदृढ गर्ने प्रयास तीव्र देखिएको छ। तिमल्सेनाको टोलीले आगामी दिनमा पनि प्रत्येक टोल तथा बस्तीमा पुगेर प्रत्यक्ष संवादलाई निरन्तरता दिने जनाएको छ।



