चरीकोट । नेपाली कांग्रेसका दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले ‘जेन–जी’ आन्दोलनका क्रममा नेताहरूको घरमा भएको आगलागी र त्यहाँ भेटिएको भनिएको पैसाको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
शनिबार भीमेश्वर नगरपालिका–रामकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै पनि राजनीतिक दलका नेताको घरमा भेटिएको भनिएको पैसाको सत्यतथ्य सार्वजनिक गर्न सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रहरीले गहिरो खोजतलास गर्नुपर्ने धारणा राखे।

“जसको जहाँ जति पैसा थियो, त्यो अब व्यक्तिगत विषय रहेन, सार्वजनिक सरोकारको विषय बनिसकेको छ,” उनले भने। शिवाकोटीले यस प्रक्रियामा नेपाली कांग्रेसले कुनै पनि अवरोध वा विरोध नगर्ने स्पष्ट पार्दै पूर्वाग्रह नराखी सार्वजनिक पदमा बसेका सबै व्यक्तिको न्यायसंगत ढंगले छानबिन हुनुपर्नेमा जोड दिए। कांग्रेसले कहिल्यै पनि आफ्ना मानिसलाई जोगाउने वा संरक्षण गर्ने पक्ष नलिएको दाबीसमेत उनले गरे।
आफ्नो पत्रकारिताको पृष्ठभूमि स्मरण गर्दै शिवाकोटीले आफू सधैँ सत्ता र शक्तिको दुरुपयोगविरुद्ध उभिँदै आएको बताए। तत्कालीन सभामुख कृष्णबहादुर महराको अनैतिक प्रकरण र तत्कालीन सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड घोटाला अडियो प्रकरण सार्वजनिक गर्दा ज्यानको जोखिम मोल्नुपरेको, भूमिगत हुनुपरेको र घर छोड्नुपरेको अनुभव उनले सुनाए। पत्रकार सधैँ सत्ताको विपक्षमा उभिएर शक्तिमा भएकाहरूलाई प्रश्न गर्ने भूमिकामा रहने उनको भनाइ थियो।
राजनीतिलाई ‘मूल’बाटै सफा गर्न सकिन्छ भन्ने विश्वासका साथ आफू राजनीतिमा आएको बताउँदै उनले पार्टीभित्र पनि केन्द्रीय समितिमा फरक मत राख्दा कतिपय अवस्थामा अप्ठ्यारोमा परे पनि सत्यको पक्षमा लडिरहेको उल्लेख गरे।
दोलखाको विकाससम्बन्धी योजना प्रस्तुत गर्दै शिवाकोटीले जिल्लालाई धार्मिक तथा प्राकृतिक पर्यटनको केन्द्र बनाउने सङ्कल्प व्यक्त गरे। बुद्ध धर्मसँग जोडिएका लप्ची, बिगु र जिरी क्षेत्रलाई ‘बुद्ध सर्किट’का रूपमा विकास गर्ने तथा श्रृङ्गी ऋषिले तपस्या गरेको क्षेत्रलाई ‘रामायण सर्किट’सँग जोड्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।
श्रृङ्गी ऋषिले तपस्या गरेको सुरुंगेलाई रामायण सर्किटसँग जोड्ने विषयमा हाल लबिङ भइरहेको उल्लेख गर्दै उनले दोलखा भीमसेन, कालिन्चोक माता, सैलुङ, छोरोल्पा हिमतालजस्ता क्षेत्रलाई समेटेर धार्मिक तथा साहसिक पर्यटन प्रवर्धन गर्न सकिने बताए। छोरोल्पा हिमतालमा हिउँदमा आइस हक्की खेल आयोजना गर्ने प्रस्तावसमेत आएको उनले जानकारी दिए।
भ्रष्टाचारविरोधी अभियान र पत्रकारिताको पृष्ठभूमिका कारण शिवाकोटीप्रति विशेषगरी युवा पुस्ताको आकर्षण बढ्दै गएको देखिन्छ। “हामी सक्छौँ, परिवर्तन सम्भव छ” भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएका उनले सिँचाइ, माटोको गुणस्तर सुधार र दिगो विकासलाई प्राथमिकतामा राखेका छन्। आफू जनताको सच्चा प्रतिनिधि बनेर दोलखाको मुहार फेर्न आएको र विजयी भए सधैँ जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता उनले जनाए।

