काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनबाट पाठ सिकेर आत्मसमीक्षा गर्ने र सच्चिने पार्टी नेपाली कांग्रेस मात्रै रहेको दाबी गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ५ ले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले आन्दोलनपछि कांग्रेस रूपान्तरणको बाटोमा अघि बढेको र अब देश बदल्ने अभियानमा केन्द्रित भएको बताए ।उनले माघ १ गते सम्पन्न अधिवेशनपछि कांग्रेस सबैभन्दा नयाँ र परिवर्तनमुखी पार्टीका रूपमा उभिएको उल्लेख गरे ।
सभापति थापाले कांग्रेस बद्लिएको सन्देश तल्लो तहसम्म पुर्याउन आवश्यक रहेको भन्दै, हिजो कांग्रेसलाई मत दिएका २७ लाख मतदातामाझ पुगेर उनीहरूको अपेक्षा र भावना बुझ्नुपर्ने बताए ।
अधिवेशनपछि पार्टीभित्र कुनै पक्ष–विपक्ष नरहेको स्पष्ट गर्दै उनले सबै नेता–कार्यकर्ता एकजुट भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।
देशमा मौलाउँदै गएको भागबन्डाको संस्कृति र भ्रष्टाचार अन्त्य गर्न कांग्रेस सशक्त रूपमा अघि बढ्ने बताउँदै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत पनि व्यापक रूपमा फैलाउन आग्रह गरे ।
कार्यक्रममा कांग्रेस महामन्त्री एवं काठमाडौँ–५ का उम्मेदवार प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सुध्रिएर आएकाले पार्टीले जनताको विश्वास जित्ने विश्वास व्यक्त गरे ।
महामन्त्री पौडेलले कसैलाई गाली गरेर मात्र आफू योग्य बन्न नसकिने उल्लेख गर्दै स्पष्ट दृष्टिकोण र ठोस एजेन्डाका आधारमा राजनीति अघि बढ्नुपर्ने धारणा राखे ।

