

काठमाडौं । नेपाली काँग्रेसले छिटो गभर्नर नियुक्ति गर्न माग गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै काँग्रेस सांसदहरुले राष्ट्र बैंकमा गभर्नर रिक्त रहेको विषय उठाएका हुन् ।
प्रमुख सत्तासीन दलमध्येकै एक नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्रबैंकमा तत्काल गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद खतिवडाले राष्ट्रबैंक लामो समयदेखि नेतृत्वविहीन हुनु राम्रो नभएको भन्दै बेलैमा नियुक्त नगर्दा अनेक अड्कलबाजी चलिरहेको पनि बताए ।
उनले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै सरकारको जवाफसमेत माग गरे । त्यस्तै, नेपाली कांगेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममा संशोधन नहुने हो भने संसद्मा छलफल गर्न व्यर्थ हुने धारणा राखेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले दुईतिहाइको बलियो सरकारले सबै दलका धारणा समेटेर थप उन्नत, व्यवस्थित र कार्यान्वयनयोग्य दस्तावेजका रूपमा नीति तथा कार्यक्रमलाई ल्याउनुपर्नेमा जोड दिए।