

काठमाडौ । लामो समयको झमेला र किचलो पछि एकता गर्नका लागि भनेर गरेको महाधिवेशनबाटै गैर आवासीय नेपाली संघ एनआरएन फुटेको छ। शनिबार वौद्धस्थित हायात होटलमा परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाले डा.शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनलाई उद्घाटन गरेकी थिइन् । सोही महाधिवेशनबाट महेश श्रेष्ठ एनआरएनएको निर्विरोध अध्यक्ष चयन भएका थिए ।
निकै लामो समयसम्म गिजोलिएको एनआरएनलेलाई एकीकृत गराउन सरकारदेखि सर्वोच्च अदालतसम्मले पटकपटक निर्देशन दिँदै आएको थियो। यिनै आदेश अनुरूप एकता गर्नका लागि डाक्टर शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति निर्माण गरिएको थियो। तर सोही समितिले आयोजना गरेको एकता महाधिवेशनमा एउटा पक्ष नै उपस्थित भएन।
यसअघि ११ औँ महाधिवेशनबाट अध्यक्ष बनेका डा.बद्री केसीले अध्यक्षकै भूमिकामा वालुवाटारस्थित केन्द्रीय कार्यालयबाट सचिवालय संचालन गर्दै आएका छन् । योसँगै एकता महाधिवेशनपछि झनै एनआरएनएमा दुई अध्यक्ष बनेका छन् । अर्थात् एकता महाधिवेशनपछि एनआरएनले औपचारिक रुपमा फुटेको छ।
अहिले स्पष्ट रूपमा साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले निकट दुई अध्यक्षले समानान्तर रुपमा एनआरएनको अध्यक्षता गरिरहेका छन्।
गैरआवासीय नेपाली संघ केवल प्रवासी नेपालीहरूको प्रतिनिधि संस्था मात्र नभई, विश्वभर रहेका ८० लाख नेपालीहरूका सामाजिक, सांस्कृतिक, र आर्थिक अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि निरन्तर कार्यरत संस्थाका रूपमा रहेर जिम्मेवार भूमिका निर्वाह गरिरहेको संस्था हो । तर समानान्तर दुई समिति रहँदा कुनलाई आधिकारिक मान्ने भन्ने विषयमा भने अन्योलता कायमै छ।