

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताको पहिलो दिन नै झेली गर्न लागेपछि सरकारसँग शिक्षकको वार्ता भाँडिएको छ । शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेका पन्तले वार्तामा बस्ने शिक्षकहरू आफू अनुकुल छानेर नामावली पठाएपछि विवाद सुरु भएको हो ।
उनले सरकारका तर्फबाट आज पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई वार्ताका लागि आह्वान गरेका थिए । जसमा वार्ता टोलीमा २५ जना वार्ता टोलीको नामावली तयार पारिएको थियो । जसमा आफ्नो पार्टीअनुकुलका व्यक्तिहरू थिए ।
वार्ता टोलीलाई सिंहदरबारको गेट पासको लागि गरिएको पत्रमा सरकारको अनुकुल व्यक्तिको नाम देखेपछि टोली सिंहदरबार गेटबाट नै फर्किएको थियो ।
विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्मा पेस हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानुनी बन्दोबस्त रहेका छन् भन्दै शिक्षामन्त्री पन्तले वार्ताको माध्यमबाट समाधान खोज्न अपिल गरेका थिए । गत चैत २० देखि विभिन्न मागसहित शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षक सडक आन्दोलनमा छन् ।