

काठमाडौं । गत २०७७ फागुन १५ गते शनिबार काठमाडौंस्थित सामाखुसी, ग्लोबल क्याफेमा भएको नुवाकोटका पूर्वएमाले कार्यकर्ता भेलामा रघुजी पन्तले दिएको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यतिबेला उनले पार्टीमा छलफल नगरी पार्टी अध्यक्षले टिकट वितरण गरेपछि रघुजी पन्तले एक सांसदको नाममा आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए, ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरू लागेका छन्। केपीको पार्टीमा पनि त्यस्ता महिला छन्। तर तिनले टिकट पनि पाएनन्। (ती महिलाको नाम लिँदै) उनले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइल जान पाम भनेपछि सांसद् त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरू न एकपटक राष्ट्रिय सभाको सदस्य पनि हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन्। उनी राष्ट्रिय सभाको सदस्य पनि हुन पाइन्, केन्द्रीय कमिटीको सदस्य पनि हुन पाइन्। ’
त्यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी समूह र माधव नेपालको साथ छाडेर एमालेमै रहेकाहरूसँग परामर्श नै नगरी टिकट वितरण गरेपछि चर्को असन्तुष्ट देखिएका १० जना नेताहरूमध्ये एक थिए रघुजी पन्त पनि ।
सोही समयमा नै उनले यस्तो आपत्तिजनक अभिव्यक्ति दिएका थिए । चुनावी तालमेलका नाममा राप्रपादेखि जनता समाजवादी पार्टीसँग सहकार्य गर्ने निर्णय पनि एमाले अध्यक्ष ओलीले एकलौटी लिएको उनको आरोप थियो । त्यसपछि पनि केही समय उनी केपी ओलीको निकै आलोचक बने । उनी कुनै समय माधव नेपालको पक्षमा लागेर शक्तिको आसपास रहने नेता हुन् । २०६१ सालमा राजाको पालामा श्रम तथा यातायात मन्त्री बनेका उनी २०६३ को पुनर्स्थापित संसदमा सदस्य थिए ।
यसरी अवसरका लागि जहिले जता पनि जाने उनी कहिले पशुपतिनाथको नाममा मनपरी बोलेर त कहिले कसको बारेमा मनपरी बोलेर विवादमा आइरहने पात्र हुन् । तिनै पन्त पछिल्लो समय केपी ओलीका कट्टर प्रशंसक बनेका थिए । पछिल्लो समय विशेषगरी संसदमा उनी केपी ओलीको कट्टर प्रशंसक बन्ने गरेका थिए । संसदमा केपी ओलीलाई कसैले औंला उठाउने बित्तिकै उठेर तिखो स्वरमा त्यसको जवाफ फर्काउने पन्तलाई ओलीले मन्त्री उपहार दिएका हुन् ।