

काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा आज नेकपा (एमाले)ले काठमाडौंको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेशन)को आयोजना गरेको छ । युवाहरूलाई नयाँ व्यवस्थाको बारेमा जानकारी दिँदै निरंकुश जहानिया शासनबाट मुक्त भएको स्मरण गराउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा करिब पाँच लाख युवाहरू सहभागी गराउने एमालेको केन्द्रीय नेतृत्वले लक्ष्य लिएको थियो ।
स्वदेशमा रोजगारी र समृद्धिका लागि युवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन आयोजना गरिएको भनिएको कार्यक्रममा एमालेले भनेजस्तो युवाहरूको ठूलो सहभागिता भने देखिएन । केही दिनअघिसम्म पाँच लाख युवा उतार्ने भनेको एमालेले कार्यक्रमको अघिल्लो दिन एक लाख जना उतार्ने बताएको थियो । एमालेनिकट युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्ष मुनीका करिब एक लाख युवा सहभागी हुने राष्ट्रिय बताएका थिए ।
तर भृकुटीमण्डमा आयोजना गरिएको कार्यक्रममा ड्रोनबाट देखिएको तस्वीर विश्लेषण गर्दा करिब २५ देखि ३० हजार जनाको सहभागिता रहेको अनुमान गरिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री एवं एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्ने र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलसहित अन्य वक्ताहरूले भाषण गरेका थिए ।
कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानको स्टलसमेत राखिएको थियो ।