

काठमाडौँ । यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई कांग्रेस नेताहरूले झपारेका छन् । उनको अभिव्यक्तिले सिङ्गो पार्टीकै बदनाम भएको भन्दै संसदमा माफी माग्न अधिकांश नेताहरूले आग्रह गरेका थिए ।
घिमिरेले केही दिन अघि प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भनेर धारणा राखेका थिए । उनको अभिव्यक्तिलाई सत्ता र प्रतिपक्षका सांसदले समेत विरोध गर्दै आइरहेका छन् ।
मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बोलाएर जिम्मेवार पदमा बसेको व्यक्तिले कानुनले बन्देज लगाएको विषयमा धारणा राखेको भन्दै नेताहरूले झपारेका हुन्।
बैठक सुरु भएपछि बैठकमै रहेका महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले सदनमा राखेको अभिव्यक्तिले पार्टीको बदनाम भएको बताएका थिए । उनीहरूले महिला सांसदहरूले बुधबार बस्ने प्रतिनिधिसभा बैठक घिमिरेले बोलेको अभिव्यक्ति हटाउन माग राख्दै बेल घेर्ने तयारी गरेकोसमेत जानकारी गराएका थिए ।
उनीहरूले त्यति भन्दाभन्दै केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, सीता गुरुङ, रामहरि खतिवडालगायत पुगेर पनि घिमिरेको अभिव्यक्तिका कारण पार्टीको बदनाम भएको बताएपछि उनलाई बैठकमा बोलाइएको थियो ।