

काठमाडौं । नेकपा एमालेले राजावादी सल्बलाउनुमा प्रमण्डको हात भएको हुन सक्ने आशंका गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेकपा एमालेका सांसदले माओवादीमाथि यस्तो आरोप लगाएका हुन् ।
प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद गोकर्ण विष्टले विशेष समयमा बोल्दै राजावादीहरू उचाल्ने काममा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको हात हुन सक्ने भन्दै प्रश्न गरेका हुन् । उनले सरकारको प्रयत्नलाई प्रतिपक्षी नेताले बारम्बार असंवैधानिक भनेर उठाइरहेको भन्दै आपत्ति जनाएका छन् ।
‘मैले बुझ्न नसक्या कुरा यति मात्रै हो कि, उहाँ सात आठ महिना प्रधानमन्त्री हुँदा नेपालमा रामराज्य थियो ? सरकारबाट बाहिरिनेबित्तिकै कसरी नेपाल रावण राज्यमा परिणत भयो ? आज उहाँमा किन चिढचिढाहाट देखिन्छ?’, विष्टले भने, ‘यही प्रश्न आएको छ । देशमा निराशा र वितृष्णा पैदा गर्ने गरी अभिव्यक्ति दिइरहनु भएको छ । प्रतिगामी शक्तिलाई मलजल गर्दै बोलिरहनु भएको छ । कतै आज पूर्वराजाको हौसलापछाडि उहाँका गतिविधि पनि सहयोगी त बनिरहेका छैनन ? गम्भीर रूपमा समीक्षा गर्नुपर्छ ।’
प्रचण्डले विचौलियालाई नजिकबाट चिनेको हो कि भन्ने आंशका गरे । उनले प्रतिगामी शक्तिलाई मलजल गर्नेगरी प्रचण्डले अभिव्यक्ति दिएको दाबी गरे ।