

काठमाडौं । सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसको विषयमा गम्भीर हुन सरकारसँग आग्रह गरेका छन् । आजको राष्ट्रिय सभा बैठकमा बोल्ने सांसदहरूले यस्तो माग राखेका हुन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले केही समययता काठमाडौँलगायत मुलुकका केही सहरमा नाराजुलुस भइरहेको उल्लेख गर्दै लोकतन्त्रमाथि प्रहार भएकामा चिन्ता व्यक्त गर्नुभयो । उनले सरकार र राजनीतिक दलले कार्यशैली सच्याउन आवश्यक रहेको बताउनुभयो । मुलुकबाट बेतिथिको अन्त्य, महङ्गी नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार दृढतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो ।
सोही पार्टीका सांसद गोमादेवी तिमल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग नेतृत्वबिहीन भएको र कर्मचारीहरुले महिनौदेखि तलव नपाएको उल्लेख गर्नुभयो । उनले तत्काल उद्योग सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दलितमाथिको विभेदका घटना बढिरहेको उल्लेख गर्दै ती घटनामा संलग्नहरु कानुनी दायरामा आउन माग गरे । उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार समक्ष माग गरे ।
सांसद युवराज शर्माले संविधानको संरक्षण र कार्यान्वयनका लागि यसका पक्षधर राजनीतिक दलहरुबीच अधिकतम सहमति गरी मुलुकमा सुशासन प्रवद्र्धन र जनआकांक्षा पूरा गर्न प्रतिबद्धताका साथ लाग्नुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले मुलुकका केही स्थानमा भएका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सांसद सुरेश आले मगरले महिला मुक्ति आन्दोेलनका लागि अझै सङ्घर्ष जरुरी रहेको बताए । उनले बागबजारदेखि मैतिदेवीसम्मको सडक दुईतर्फी बनाउन सरकारसमक्ष माग गरे ।