

काठमाडौं । राजावादीहरू सलबलाएको भन्दै नेकपा माओवादी केन्द्रले सञ्चालन गर्दै आएको तराई मधेस जागरण अभियान स्थगित गर्ने निर्णय गरेको छ। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको अपिलपछि राजसंस्था पुनस्थापनाको माग गर्दै विभिन्न आन्दोलन तथा गतिविधिहरु हुँदै आएका छन्।
पछिल्लो समय गतिविधि बढ्न थालेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीका कारण राजावादीहरू सलबलाएको भन्दै अभियान स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यक रूपमा सल्बलाउन थालेको दावी गर्दै माओवादीले फागुन १२ गतेबाट सुरु भएको अभियान तत्कालका लागि स्थगित गरेको हो ।
‘केपी ओलीले असाध्यै गलत कामहरू गर्नुभयो । सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यकरुपमा सल्वलाउन थाले,’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, ‘यसै विषयमा छलफल गर्न भोलि (आइतबार) पदाधिकारी बैठक बोलाइएको छ । बैठकका लागि जागरण अभियान अन्तर्गतका भोलि–पर्सीका कार्यक्रमहरू अहिलेलाई स्थगित गरिएको हो ।’
उनले गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने जिकिर गर्दै राजावादी समूहविरुद्ध प्रतिरोध गर्नुपर्ने अवस्थासमेत हुन सक्ने पनि बताए । ‘अहिलेको गणतन्त्रको विकल्प राजावादी हुनै सक्दैनन् । प्रतिगमन हुनै सक्दैन,’ आचार्यले भने, ‘यस्तो अवस्थामा राजावादी विरुद्ध प्रतिरोध गर्नुपर्ने आवश्यक हुन सक्छ ।’