

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटर्फमहरुलाई मन्त्रालयमा सूचीकरण हुन पुन: आग्रह गरेका छन् । यसअघि पनि विभिन्न मितिमा नेपालमा सञ्चालनमा आएका सबै सामाजिक सञ्जाललाई दर्ता हुन ताकेता गरे पनि टिकटक लगायत तीन वटा प्लेटफार्म मात्रै दर्ता भएका छन् ।
सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन आग्रह गरेका छन् । यसअघि मन्त्रालयले सूचीकरणका लागि एक्स, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लेटर्फमलाई ताकेता गरेको थियो । मन्त्रालयको आह्वानपछि गत असोज १६ मा विटक, गत वर्षको फागुन २४ मा भाइबर र गत कात्तिक ८ मा टिकटक सूचीकृत भइसकेका छन् ।
मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुनैपर्ने बाध्यकारी व्यवस्था गरिएको बताए । “हामीले पत्राचार नै गरेर सामाजिक सञ्जाल प्लेटर्फमलाई सूचीकरण गर्न आग्रह गरेका छौं”, उनले भने, “फेरि अर्कोपटक आह्वान गर्छौं, अटेरी गरे कानुनी दायरामा ल्याउँछौँ ।”