

मोरङ । नेकपा एमालेलाई गुटविहीन बनाउने अभियानमा रहेका केपी ओली पक्षीय प्यानललाई पछि पार्दै मोरङमा विद्या भण्डारी पक्षीय प्यानलले अग्रता हासिल गरेको छ। राष्ट्रियस्तरमा समेत निकै चर्चा पाएको एमाले मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबारदेखि सुरु मतगणना जारी छ। मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ।
गत महिना करिब एक साता पूर्व भ्रमण गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मूलरूपमा समर्थन गरेको विद्रोही पक्षले अध्यक्षसहित सबै पदमा अग्रता हासिल गरिरहेको छ।
४३९ मतगणना गरिसक्दा अध्यक्षसहित पाँचजना पदाधिकारीमा कोशी प्रदेशको अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता बनाउँदै लगेको छ।
अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले अहिलेसम्म २२५ मत ल्याएका छन्। उता ओली र महासचिव शंकर पोखरेलसहितको साथ पाएका राजकुमार ओझा २०२ मतसहित पछ्याउँदैछन्।
एमाले मोरङको अधिवेशनमा सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि केन्द्रबाट प्रधानमन्त्री केपी शर्मा ओली समेतले प्रयास गर्दा पनि सफल हुन सकेको थिएन। यदि अहिलेको अग्रतालाई निरन्तरता दिँदै विद्रोही पक्षले चुनाव जितेको खण्डमा केपी ओलीले गुटविहीन एमालेलाई निर्माण गर्ने भन्दै गरेको प्रयास विफल हुने निश्चित देखिन्छ । यसबाट अबको निर्वाचनमा जबर्जस्त रुपमा विद्या भण्डारी केपी ओलीको प्रतिस्पर्धीको रुपमा उदाउने स्पष्ट देखिन्छ ।