

काठमाडौं । केपी ओलीलाई प्रश्न सोध्ने दुई पत्रकारको संसद् प्रवेश पास संघीय संसद सचिवालयले रद्द गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै पत्रकार किशोर श्रेष्ठ र प्रकाश वलीको संसद् प्रवेश पास निलम्बन गरिएको हो ।
महासचिवस्तरीय निर्णयबाट पास निलम्बन गरिएको सचिवालयले जनाएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार एक महिनालाई संसद प्रवेश पास निलम्बन गरिएको हो । ‘पत्रकार आचारसंहिता, कार्यविधि र पालन गर्नुपर्ने नियमहरू छन् । यसको उल्लघन गरेको कारणले उनीहरूलाई दिइएको संसद सचिवालयको कार्ड एक महिनाका लागि निलम्बन गरिएको हो’, उनले भने । उनीहरू अब एक महिनासम्म संसद प्रवेश गर्न पाउने छैनन् ।
निलम्बन फिर्ता लिन महासंघको आग्रह
उता, नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्ने पत्रकारको पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गरेको छ ।
महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संसद्लाई निलम्बन फिर्ता लिन माग गरेको हो । ‘पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गर्दछ ।’