

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन्। नेमकिपाको आज सम्पन्न आठौँं महाधिवेशनको अन्तिम आज बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। नेमकिपाको आठौंँ महाधिवेशन गत फागुन १६ गते सुरू भएको हो।
विसं २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजेक्छें सर्वसम्मत अध्यक्ष रहँदै आएका छन्। उमेर ८५ वर्ष पुगेका बिजुक्छेंले २०७४ को आम निर्वाचनमा संसदीय राजनीतिबाट विश्राम लिएका थिए। उनले जित्दै आएको भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो।
महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति सर्वसम्मत चयन गरेको छ। यसैगरी केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ सर्वसम्मत चयन भएका छन्।