

काठमाडौं । अमेरिकी प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं सभापति रवि लामिछानेका विश्वासपात्र मोहन थापालाई पक्राउ परेको छ । थापा रास्वपा सभापति रवि लामिछाने थुनामा पर्नेबित्तिकै नेपाल आएर उनलाई धरौटीमा छुटाउन क्रियाशील थिए । पोखरादेखि भैरहवा हुँदै चितवनसम्म उनी रविलाई थुनामुक्त गराउन सक्रिय रहेको बताइएको थियो ।
ग्रीनकार्ड भएको व्यक्ति अस्वभाविकरुपमा ओहोरादोहोर गरिरहदा पनि त्यहाँको अध्यागमन विभागले पक्राउ गरेर सोधपुछ गर्ने गरेको छ । विभिन्न व्यक्तिलाई फ्रड लाइसेन्स बनाएको अभियोग उनीमाथि थियो । रास्वपा नेता मनिष झाले थापालाई अमेरिकन इमिग्रेसनबाटै प्रहरीले पक्राउ गरेको जनाएका छन् । झाले दिएको जानकारीअनुसार थापा अहिले फिलाडेल्फिया संघीय हिरासतमा रहेको बताइएको छ । थापा सभापति रवि लामिछाने निकट मानिन्छन् ।
रास्वपा सभापति रवि लामिछानेसँग अत्यन्त निकट भनेर चर्चामा आइरहने र ढाका कुमार श्रेष्ठले पैसाको लेनदेन गरेको आरोप लागेका थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन् । ‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ’, झाले भनेका छन् । झाले आइतबार थापाले यसअघि नै ब्यक्तिगत कानुनी प्रक्रियाहरु स्पस्ट र समाधान गर्नुपर्ने र सो किनारा नलागेसम्मका लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको पनि बताएका छन् ।
थापा गतहप्ता अमेरिकाका पेन्सिलभेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको स्रोतको भनाइ छ । गत हप्तामात्र कतार हुँदै अमेरिका पुगेका थिए । उनी अमेरिका पुगेलगत्तै पक्राउ परेका थिए । अमेरिकी आप्रवासन तथा भन्सार प्रबर्तन (आईएस) ले थापालाई पक्राउ गरेको बताइएको छ । थापा अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए ।