

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रीलाई नै चुनौती दिँदै स्पष्टीकरण बुझाएका छन् । मन्त्रीले सोधेको २४ घण्टे स्पष्टीकरणमा उनले मन्त्रीसँग आफूलाई स्पष्टीकरण सोध्ने कानुनी आधार नै नरहेको बताएका छन्। कुलमानले उल्टै मन्त्रीलाई नै केही प्रतिप्रश्न गरेका छन् ।
कुलमानले बिहीबार बुझाएको जवाफमा आफू मन्त्रिपरिषद्को निर्णय बमोजिम नियुक्त भएकोले आफूलाई मन्त्रिपरिषद्ले मात्रै प्रष्टीकरण सोध्न सक्ने बताएका छन् । साथै, कुनै कसुर यकिन नभई आफूलाई दु:ख दिनका लागि मात्रै स्पष्टीकरण सोधिएको कुलमानको जिकिर छ । त्यस्तै, आफूले पठाएको पहिलो स्पष्टीकरण के कति कारणले चित्तबुझ्दो भएन भन्ने कारण खुलेको छैन नखुलेको भन्दै यस्तो अवस्थामा आफूले उचित प्रतिवादको मौका नपाएको उनको गुनासो छ ।
मन्त्रालयले कार्यप्रगतिको सम्बन्धमा सोधेको प्रष्टीकरणमा कुलमानले आफ्नो नियुक्ति पश्चात्को प्रगतिको सूचकाङ्क हेर्न सुझाएका छन् । यो सूचकले नै आफ्नो प्रगति उजागर गर्ने उनको जवाफ छ । आव २०८०/८१ को कार्यसम्पादनको मूल्याङ्कन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैमा अपरिपक्व र अनुचित रहेको समेत बताएका छन् ।