

काठमाडौँ । निर्वाचन आयोगमा बुझाएको अडिट रिपोर्ट अनुसार देशको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस ऋणमा चलिरहेको देखिएको छ । पार्टीको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनले सञ्चित कोष २ करोड ३२ लाख ४७ हजार रुपैयाँले नोक्सानीमा गएको देखाएको हो । उसको रिपोर्टअनुसार कुल चार करोड ९१ लाख ५६ हजार रुपैयाँ खर्च गरेको कांग्रेसले यो अवधिमा दुई करोड ५९ लाख ८ हजार रुपैयाँ मात्रै आम्दानी गरेको देखिएको छ । काँग्रेसले सदस्यता शुल्क र बैंकको व्याजबाट प्राप्त रकमलाई आम्दानीको रूपमा देखाएको छ ।
दलहरुको आम्दानी र खर्चको विवरण हेर्दा संसद्को पहिलो दल नेपाली कांग्रेस, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी घाटामा देखिन्छन् ।
त्यस्तै, अहिले सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले भने सबैभन्दा धनी पार्टी देखिएको छ । एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो । एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरुबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ । एमालेले गत आर्थिक वर्ष (२०८०/८१)मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । उसले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको छ । यस हिसाबले एमालेसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत छ ।
त्यस्तै, संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १ करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरेको छ । यो आर्थिक वर्ष उसको आम्दानीभन्दा खर्च २ हजार ४४४ रुपैयाँ बढी छ । नयाँ दलको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आम्दानी भन्दा खर्च दोब्बरले गरेको छ । रास्वपाले २०८०/८१ मा ३ करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च भने ६ करोड ५० लाख १७ हजार ७८ रुपियाँ छ । यो हिसाबले रास्वपा २ करोड ७० लाख ५७ हजार ५९१ रुपैयाँ घाटामा छ ।