

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको पुत्ला जलाएका छन्। पूर्व राजाको विषयमा खतिवडाले दिएको एक अभिव्यक्तिलाई लिएर राप्रपाको भातृ संगठन प्रजातान्त्रिक युवा संगठनले बुधबार खतिवडाको पुतला जलाएका हुन्।
बुधबार महाशिवरात्रीको दिन गणतन्त्रको विरोध र राजतन्त्र पुनर्स्थापनाको माग गर्दै संगठनले राँके जुलुससहित साँझ सुकेधाराबाट चाबहिलसम्म प्रदर्शन गरेको हो ।
खतिवडाले केही दिनअघि ‘हामी राजालाई बम हान्ने पार्टीका कायकर्ता हौँ’ भन्दै अभिव्यक्ति दिएका थिए । यस्तो अभिव्यक्ति दिएर खतिवडाले पूर्वराजालाई धम्क्याउने काम गरेको केन्द्रीय आन्दोलन परिचालन समितिका सदस्य राजु लोहनीले आरोप लगाए ।
उनले पूर्वराजालाई जिस्क्याउने काम बन्द चेतावनी दिँदै नवीन समझदारीबाट राजालाई पनि ठाउँ खाली गरिनुपर्ने धारणा राखे । उनले चैतका लागि राप्रपाले आन्दोलनको बिगुल फुकिसकेको भन्दै अहिलेको व्यवस्था विफल भएकाले राजतन्त्रको विकल्प नभएको तर्क गरे ।