

काठमाडौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पाँचौं अधिवेशनको ११ औँ बैठक सोमबार बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा चारवटा कार्यतालिका तय गरिएको छ। जसमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी सम्बन्धी विधेयक प्रस्तुत गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र अन्य सांसदहरुले समसामयिक विषयमा जरुरी महत्वको प्रस्ताव पेश गर्ने कार्यतालिका तय गरिएको छ।
आजको बैठकमा सांसद राजेन्द्र बजगाईले “नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर ( बँदेल ) को आतङ्कबाट खेतीबाली नष्ट भई किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त प्रस्तावका समर्थक उदय शमशेर ज.ब.रा. र सञ्जय कुमार गौतमले समर्थन गर्ने महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्।