

काठमाडौं । प्रतिनिधि सभामा आज ताप्लेजुङमा भइरहेको अशान्तिको अवस्था अन्त्य गर्न माग उठेको छ । सांसदहरूले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको भन्दै केबलकार निर्माण तत्काल रोकेर जनतासँग वार्तामार्फत् समस्या समाधान गर्न माग गरेका हुन् ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज सांसदहरूले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। बैठकमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको टिप्पणी गरे।
सांसद योगेश भट्टराईले ताप्लेजुङ् जिल्लास्थित पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केबलकार बनाउने उचित हो वा होइन वार्ता र संवादबाट टुङ्ग्याउनुपर्ने बताए।
सांसद तोसिमा कार्कीले सो क्षेत्रमा केबलकार निर्माण विवादरहित बनाउनुपर्ने उल्लेख गर्दै सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिइन्। साथै उनले सो आयोजनाको निर्माण तत्काल स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गरिन्।